दफा ११०
नियम तथा विनियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बैंकले नेपाल सरकारको स्वीकृति लिई देहायका विषयमा आवश्यक नियम बनाउन सक्नेछः– (क)विदेशी विनिमय कारोबार । (ख)जलेको, च्यातिएको, झूत्रिएको, मेटिएको वा आकृति बिग्रिएको बैंक नोट तथा सिक्काको सट्टाभर्ना । (ग) नेपाल सरकार बैंक बीच हुने व्यापारिक कारोबार । (घ) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक ठानेका अन्य विषयहरु । (२) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले देहायका विषयमा विनियम बनाउन सक्नेछः– (क)समितिको बैठक हुने स्थान, समय र तत्सम्बन्धी कार्यविधि । (ख)समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्ने र त्यस्तो उपसमितिको कार्यविधि । (ग)बैंकका कर्मचारीहरुको नियुक्ती, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक तथा सुविधा, निवृत्तभरण, उपदान, संचयकोष, बिदा, आचरण तथा अनुशासन र सेवा सम्बन्धी शर्त । (घ) समितिले गभर्नरलाई र गभर्नरले डेपुटी गभर्नरलाई वा बैंकका अन्य कर्मचारीलाई अख्तियारी सुम्पने । (ङ)बैंकको तर्फबाट गरिने पट्टा, कबुलियत सम्बन्धी शर्त । (च)बैंकको छाप चलाउने । (छ)बैंकले राख्नु पर्ने हरहिसाब, खाता, बही वा अन्य श्रेस्ता, कागजात र त्यस्को ढांचा । (ज)बैंकको आन्तरिक लेखा परिक्षण तथा निरीक्षण । (झ)वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण । (ञ)वाणिज्य बैंक तथा वित्तीय संस्थाले पेश गर्नु पर्ने विवरण । (ट)बैंकको नगद मौज्दात वा नगदको जिम्मेवारी । (ठ)बैंक तर्फबाट गर्नु पर्ने मुद्दा मामिला वा अन्य कारबाहीको परिचालन । (ड)कर्जा नियन्त्रण । (ढ)बैंकको खर्च व्यवस्था । (ढ१)वाणिज्य बैंकतथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा । (ढ२)वाणिज्य बैंकतथा वित्तीय संस्थाहरुको शीघ्र सुधारात्मक कारबाही सम्बन्धमा । (ढ३)कर्जा सूचना सम्बन्धमा । (ढ४)भूक्तानी तथा हिसाब मिलान सम्बन्धमा । (ढ५)फरफारख भर्ने सम्बन्धमा । (ढ६)बैङ्कले जारी गर्ने इजाजतपत्रका सम्बन्धमा ।  (ण)   यस ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य विषयहरु । (३) उपदफा (१) र (२) मा उल्लिखित विषय बाहेक यस ऐन बमोजिम जारी गर्नु पर्ने आदेश, निर्देशन, कार्यविधि तथा मार्गदर्शन गभर्नरले जारी गर्नेछ । (४) उपदफा (२) अन्तर्गत बनेको विनियम र उपदफा (३) अन्तर्गत जारी गरिएको आदेश तथा निर्देशन बैंकले नेपाल सरकारको जानकारीको निमित्त पठाउनेछ । (५) उपदफा (२) अन्तर्गत बनेको विनियम वा उपदफा (३) अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन बैंकले सार्वजनिक रुपमा प्रकाशन र प्रशारण गर्ने वा गराउनेछ ।